हिजोसम्म हाॅसिरहेको मान्छे
आज विहानैदेखि
घुॅक्क-धुॅक्क गर्दै रोइरहेको छ।
त्यही रूवाइबाट झरेका ताता-ताता आॅशुका धाराले
हृदयभित्र घाउहरू धोइरहेछ।
विधिको विडम्बना हो कि धनप्रसादको झेल,
उदर स्वाॅठेको जाल हो कि घ्याम्पे दाइको खेल,
खै कसले छुट्याइदिने?
न्यायाधिसलाई रूघा लागेको छ
कम्मर कसेर दर्जी भन्छ
"ए हजुर! यो मान्छे तेसै रोएको हैन।
यस्मा श्यामलाल वितवहादुर र अरू धेरैको हात छ
जो सुकैको हात लागोस् जो सुकैको बात लागोस्
आखिर,
बोक्रालालको हृदयभित्र
कहिल्यै नपुरिने घाउ लागेको छ।
त्यसैले
ऊ निचोरेको अमिलोजस्तो मुख पारेर
रोइरहेछ... रोइरहेछ।